काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।
भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ
मंगलबार विहानै राजधानी उपत्यकाका सहित देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन् । बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको लगाएत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न आठ स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको नेपाल प्रहरी जनाएको छ । भने चितवन, झापा, बझाङ, रोल्पा, मकवानपुर लगाएतका विभिन्न जिल्लाहरुमा प्रेसर कुकर बम , रिमोट बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको र केही स्थानमा नेपाली सेनाको बम डिस्पोज टोली पुग्दै गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीका अनुसार राति ३ बजेदेखि नै प्रहरी परिचालित भएको र केही स्थानमा भेटिएका शंकास्पद बस्तु प्रहरी आफै र केही स्थानमा सेनाको सहयोगमा निष्क्रिय पारिको छ । विहानैदेखी राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउँठाउँमा चेकजाच पनि गरिएको छ ।
तर्साउने नियतले प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु मान्छेको आवतजावत हुने ठाउँमा राखिएको प्रहरीले जनाएको छ । भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
यस्तै ललितपुुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ । थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ । यसैगरी नैकापमा बम फेला परेको छ । उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ । नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुगि डिस्पोजको तयारी गरेको छ । अन्य जिल्लाहरुमा नेपाली सेनाको डिस्पोज टोली जाँदै गरेको र सेनाको उक्त टोली पुगेपछि शंकास्पद वस्तु डिस्पोज गर्ने प्रहरीले जानकारी दिएको छ । नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ । यसैबीच नवलपुर जिल्लाको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान २ बजेतिर ना २ ख २५४८ नम्बरको ट्रकमा आगजनी । प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले ट्रकमा कुनै क्षती नभएको तर ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । साभार एवीसी न्युज
तपाईको प्रतिक्रिया