कृष्णा यादव
बीरगंज ३० पुष ।
वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगितामा तेस्रो दिन भएको खेलमा आर्मीले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
भरत खवासको ह्याट्रिकसँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको सोमवार भएको खेलमाआर्मी विजयी भएको हो ।
खेलको पहिलो हाफको ४२ औं मिनेटमा गोल गर्दै भरत खवासले आर्मीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफ शुरु भएको दुई मिनेटमै अर्को गोल थपेर अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ३४ औं मिनेटमा नवजनजागृतिका खेलाडीले डि बक्समै खवासमाथि फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। पेनाल्टीमा खवासले तेश्रो गोल गरे ।
प्रतियोगितामा दोश्रो ह्याट्रिक गर्न सफल आर्मीका भरत खवासलाई आयोजकले म्यान अफ दी म्याच घोषित गरेका थिए । प्रतियोगितामा भोलि झापा ११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।
तपाईको प्रतिक्रिया