जनकपुर, साउन १६ – स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको प्रदेश नम्बर २ मा पार्टीलाई एक नम्बर बनाउन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु मधेस झरेका छन् । स्थानीय तहको दुई चरणको निर्वाचनमा अप्रत्यासित परिणाम हासिल गरेर तेश्रो स्थानमा रहेको माओवादी केन्द्र आउँदो असोज २ मा हुने प्रदेश नम्बर २ को निर्वाचनमा पार्टीलाई पहिलो बनाउन कसरतमा जुटेका छन् ।
चुनावलाई लक्षित गरी कार्यकर्तालाई प्रशिक्षण दिन सोमबार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु जनकपुर आएका छन् । जनकपुरको पिडारीचोकमा रहेको जानकी बाटिकामा प्रदेश नम्बर २ का पार्टी नेता कार्यकर्तालाई चुनावको विषयमा प्रशिक्षण दिने कार्यक्रम चलिरहेको छ ।
प्रशिक्षण कार्यक्रममा शीर्ष नेता नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, हरिबोल गजुरेल, माओवादी नेता एवं बर्तमान सरकारका स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल, सहरी विकास मन्त्री प्रभु साह, माओवादी केन्द्रका प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साह, माओवादी सांसद तथा पूर्व सिँचाइ मन्त्री उमेश यादवसहितका नेता तथा सांसादहरु सहभागी भएका छन् ।
प्रशिक्षणमा आगामी स्थानीय तहको चुनावमा कसरी पार्टीलाई बढी भन्दा बढी स्थानीय तहमा जिताउने भन्ने विषयमा शीर्ष नेताहरुले प्रशिक्षण दिनुको साथै प्रदेश नम्बर २ मा पार्टीलाई एक नम्बर बनाउन गहन छलफल गरी चुनाव लक्षित रणनीति तय गर्ने माओवादी नेता एवं पूर्व सिँचाइ मन्त्री उमेश यादवले जानकारी दिनुभयो । प्रशिक्षण पश्चात मंगलबार पार्टीले पत्रकार सम्मेलन गरि कार्यक्रमहरु सार्वजनिक गर्ने माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामचन्द्र मण्डलले जानकारी दिनुभयो । साभार उज्यालो अनलाईन
तपाईको प्रतिक्रिया