सप्तरी ५ भदौ, ।
निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई छाता चुनाव चिन्ह दिन नसकिने जनाएको छ । कानुनी र प्राविधिक जटिलता रहेको भन्दै आयोगले राजपालाई छाता चुनाव चिन्ह दिन नसकिने प्रस्ट पारेको हो । सोमवार सप्तरीको राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने ‘ राजपालाई छाता चुनाव चिन्ह दिन कानुनले मिल्दैन प्राविधि रुपले पनि सम्भव छैन’ यसअघि एउटा दलले छाता चुनाव चिन्ह माग गर्दै आयोगमा निवदेन परिसकेको उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई छाता चुनाव चिन्ह दिन आग्रह गरे पनि प्रमुख आयुक्त डाक्टर यादवले कानुनी रुपमा नमिल्ने भन्दै नकार्दै आएका छन् । बाढीले धेरै ठाउँमा बाटो बिगारेको, मतदान केन्द्र र निर्वाचन अधिकृतको कार्यालयमा क्षति पुर्याएको उनले बताए । ‘क्षति पुर्याएका बाटो र कार्यालय मर्मत गर्न सरकारलाई भनेको छु’ उनले भने, ‘चुनावअघि जति काम सकिन्छ ठीक छ । सम्पन्न हुन नसके टेन्ट टाँगेर भएपनि निर्वाचन हुन्छ ।’ प्रदेश २ को चुनावलाई लक्षित गरी जनशक्ति व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताउँदै उनले चुनावका निम्ति सबै तयारी भएको बताए । साभार न्युज सेवा डटकम
तपाईको प्रतिक्रिया